सर्लाही । बलरा नगरपालिकाले नियमविपरीत अस्पताल व्यवस्थापनका लागि सफ्टवेयर खरिद गरेको खुलेको छ । सार्वजनिक खरिद ऐनविपरीत प्रक्रिया अघि बढाउँदै नगरपालिका २०८० भदौ १३ गते डायनामिक टेक्नो सफ्ट प्राईभेट लिमिटेड बाट ९ लाख ९९ हजार १ सय ९६ रुपैयाँ बराबरको सफ्टवेयर खरिद गरेको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको हो ।
महालेखा परीक्षणको ६२औँ प्रतिवेदनअनुसार सफ्टवेयर खरिदमा कुनै लागत अनुमान तयार गरिएको थिएन । सामान्यतया यस्ता खरिदमा लागत अनुमान तयार पारेर प्रतिस्पर्धी प्रक्रिया अपनाउनुपर्ने कानुनी व्यवस्था छ । तर बलरा नगरपालिकाले तीनवटा मात्र कोटेशन संकलन गरी कम्पनीको मूल्य सूचीलाई आधार मानेर खरिद प्रक्रिया सम्पन्न गरेको देखिएको छ ।
लागत अनुमानबिनै कोटेशन संकलन गरेर खरिद प्रक्रिया अघि बढाइएकाले यसको पारदर्शिता र मितव्ययिता दुबैमा प्रश्न उठेको हो । परीक्षण प्रतिवेदनले नगरपालिकाले खरिदसँग सम्बन्धित आवश्यक प्रमाण समेत नपेस गरेको उल्लेख गर्दै खर्चको औचित्यमाथि नै गम्भीर आशंका व्यक्त गरेको छ ।
विशेषज्ञहरू भन्छन्– “लागत अनुमानबिनाको खरिदले भ्रष्टाचार र आर्थिक दुरुपयोगलाई प्रश्रय दिन्छ । स्थानीय सरकारको यस्तो लापरबाहीले जनताको करको रकम अनियमित ढंगले खर्च गरिएको स्पष्ट देखिन्छ ।”
नियमविपरीत गरिएको खरिदको जवाफ दिन नगरपालिकाले हालसम्म चासो नदेखाएको आलोचकहरूको आरोप छ । सार्वजनिक निकायले कानुनको पालना गरी खरिद प्रक्रिया अघि बढाउनु पर्नेमा बलराले भने प्रक्रिया र पारदर्शिताको धज्जी उडाएको हो ।
यसले स्थानीय तहमा देखिएको सुशासन अभाव र आर्थिक अनुशासनको कमीलाई पुनः उजागर गरेको छ ।



