सर्लाही । कालीध्वज गण पाँच कुमारी ब्यारेक सर्लाहीको नेतृत्वमा फेरबदल भएको छ । गणपतिका रूपमा हालै सर्लाही आएका प्रमुख सेनानी उमेश खड्काको स्वागत गर्दै सरुवा भई सुर्खेत जान लागेका गणपति गोविन्द बिष्टलाई बिदाइ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभाहलमा आयोजित ‘फेरि भेटौंला’ कार्यक्रममार्फत बिष्टलाई औपचारिक रूपमा बिदाइ गरिएको हो । प्रमुख सेनानी बिष्टको पश्चिम कमाण्ड इकाई शाखा सुर्खेतमा सरुवा भएको हो ।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) तुलसी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्का लगायत प्रमुख सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले बिष्टको कार्यकालमा जिल्लाको समग्र सुरक्षा व्यवस्थामा देखिएको सक्रियता र समन्वयप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ जिम्मेवारीमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
नवनियुक्त प्रमुख सेनानी उमेश खड्काले स्वागतप्रति आभार व्यक्त गर्दै सर्लाहीको शान्ति सुरक्षा र सुव्यवस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कालीध्वज गणका अधिकृत, सुरक्षाकर्मी, प्रशासनका प्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थिति थियो । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।



