महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्मा र मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा चतुर्वेदीको प्रत्यक्ष संरक्षणमा सहायक हवल्दार धर्मेन्द्र यादवले तस्करीको साम्राज्य चलाइरहेको खुलासा भएको छ ।
छ वर्षदेखि घुमुवाका रूपमा कार्यरत यादवले प्रहरीका उच्चपदस्थ अधिकारीहरूसँगको सम्बन्ध प्रयोग गर्दै महोत्तरीमा संगठित तवरले अवैध कारोबार सञ्चालन गर्दै आएका छन् । जिल्लाको इटहर्वा, कटैया, सम्सी, रघुनाथपुर, गैरा भेटपुरलगायत नाकाबाट चामल, गुड, चिनी, कपडा, किराना सामग्रीदेखि नेपालबाट चाइनीज स्याउसम्म भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
तस्करीको यो सञ्जाल ‘लाइन’ लिएर चलाइँदै आएको छ । इटहर्वा नाकाबाट जितु, सरिफुल, शंकर, सोभा, सम्भु, राजा, कालिया, आलम जहिर, गैरा भेटपुरबाट सुनिल यादव, श्याम, रन्जन, मेराज, उजाला लगायत व्यापारीहरू धर्मेन्द्र यादवसँग मिलेर तस्करीमा सक्रिय छन् ।
यादव हाल कागजमा बिदामा देखिए पनि वास्तविक रूपमा अवैध कारोबारमा अझै सक्रिय छन् । प्रहरी प्रधान कार्यालयले उनलाई दरबन्दीअनुसार स्थानान्तरण गर्न आदेश दिँदासमेत एसपी शर्मा र डिआईजी चतुर्वेदीले उक्त आदेश बेवास्ता गर्दै संरक्षण दिइरहेका छन् । यसबाट प्रहरी नेतृत्व स्वयं नै तस्करीमा संलग्न रहेको सन्देश प्रवाहित भएको छ ।
सहायक हवल्दार यादव विभिन्न काण्डमा मुछिए पनि हालसम्म कुनै कारबाही नगर्नु प्रहरी नेतृत्वको संरक्षणको प्रत्यक्ष प्रमाणको रूपमा हेरिएको छ । प्रहरी स्रोतहरूका अनुसार, यादवले उच्च अधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर पटक–पटक कारबाहीबाट उम्किँदै आएका छन् ।
यसअघि अर्का घुमुवा हवल्दार राजेश यादवसमेत विभिन्न काण्डमा मुछिएपछि मधेश प्रदेश प्रहरी गणमा तानिएका थिए । साथै ईलाका प्रहरी कार्यालय गौशला अन्तर्गतका दुई जना घुमुवा धिरज महतो र एक सहायक लेखापालमाथि पनि अनुशासनात्मक कारबाही गरिएको थियो । तर धर्मेन्द्र यादव भने अझै राज्य संयन्त्रकै संरक्षणमा उन्मुक्त घुमिरहेका छन् ।
स्थानीयवासीहरूका अनुसार, यादवले प्रहरीको नाम र वर्दी दुरुपयोग गरी व्यापारिहरूसँग सिधा सेटिङ गरेर तस्करी मात्र हैन, आतंक नै सिर्जना गरिरहेका छन् । “घुमुवाहरूको जथाभावी चलखेल, हाकिमसँगको मिलेमतो, र सामान्य जनतामाथि देखिएको दमनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ,” एक स्थानीय व्यापारीले भने ।
प्रहरीभित्रकै मिलेमतोमा तस्करी मौलाउँदै जानुमा चिन्ता व्यक्त गर्दै स्रोतहरू भन्छन्, “अब संघीय सरकारले गम्भीर हस्तक्षेप गरेर अनुसन्धान गर्नुपर्ने बेला आएको छ । साना कर्मचारीलाई मात्र होइन, संरक्षण दिने ठूला हाकिमहरूलाई समेत जवाफदेही बनाउनु जरुरी छ ।”
यसरी हुन्छ तस्करी : यो लिंकमा क्लिक गर्नुहोस् ।



