सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरमा पूूर्व संघीय सांसद रूहीनाज मिकरानीको संसदीय विकास बजेटबाट जडान गरिएको समरसियल भूमिगत पम्प आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
२०७९/८० सालको संघीय बजेटमार्फत स्थापित उक्त पम्पको उद्घाटन कार्यक्रम आज २०८२ साउन ९ गते सम्पन्न भएको हो । पूर्व सांसद मिकरानीको प्रमुख आतिथ्य र वडा अध्यक्ष मो. जुलफ फकार अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका भूतपूर्व गाविस अध्यक्ष नुरूल मिकरानीले पम्प उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधिहरू, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटनसँगै पम्पबाट खानेपानी आपूर्ति सुरु भइसकेको छ । यसबाट खानेपानी अभाव झेलिरहेका स्थानीय बासिन्दाहरूले २४ सै घण्टा शुद्ध खानेपानी पाउने छन् ।
वडाध्यक्ष मो. जुलफ फकार अलिले केही दिनभित्र वडाका अन्य क्षेत्रहरूमा समेत थप समरसियल पम्प जडान कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।
स्थानीयहरूका अनुसार यस पम्पको सञ्चालनले वर्षौँदेखि ट्यांकर र कुवामा निर्भर रहँदै आएका भाँडसरवासीलाई ठूलो राहत पुर्याउनेछ ।



