सर्लाहीमा सवारी दुर्घटनाबाट मृत्यु २३ प्रतिशतले घट्यो, ट्राफिक कार्यालयले संकलन गर्‍यो २ करोड बढी राजस्व

अरोज यादव । सर्लाही । सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २३ प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ७३ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म उक्त संख्या घटेर ५६ मा सीमित भएको हो ।

सवारी दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या पनि घटेको छ। अघिल्लो वर्ष ६१४ जना गम्भीर घाइते भएकोमा हाल ५०१ जनामा झरेको कार्यालयले जनाएको छ । तर, साधारण घाइतेको संख्या भने बढेको छ । अघिल्लो वर्ष ५०४ जना मात्र घाइते भएका थिए भने यो वर्ष त्यो संख्या १,१८० पुगेको छ ।

दुर्घटनामा कमी आउनुको प्रमुख कारण ट्राफिक प्रहरीको कडाइ, प्रविधिको प्रयोग र जनचेतनामूलक कार्यक्रम भएको ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको असार मसान्तसम्म २० हजार ३४ वटा सवारीसाधनमा कारबाही गर्दै २ करोड २ लाख १८ हजार ५ सय २० रुपैयाँ राजस्व संकलन गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५१४ चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिँदा २ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै क्षमता भन्दा बढी भार बोक्ने सवारीमाथि कारबाही गर्दै ४ लाख ४५ हजार रुपैयाँ बराबरको राजस्व उठाइएको हो ।

लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा दुई जना चालक भए/नभएको अनुगमन गर्न ट्राफिक कम्युनिकेशन एप प्रयोग गरिएको छ । यसै क्रममा २३४ वटा सवारीमा २ जना चालक नभेटिएको भन्दै उनीहरूलाई कारबाही गरी २ लाख ३४ हजार रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा मात्रै २ हजार १ सय ४५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट १ लाख २५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् ।

ट्राफिक प्रहरीले ‘अन द स्पट’ सचेतना कार्यक्रम, स्कुल बस तथा यात्रुवाहक सवारी चेकजाँच, चाडपर्व लक्षित विशेष अभियान, सडक प्रयोगकर्तासँग २ मिनेट, अल्पसंख्यक समुदायसँग ट्राफिक संवाद, साइकल चालक र उखु ढुवानी गर्ने सवारीका लागि लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

साथै, चालक र सहचालकहरूको आँखा जाँच तथा स्वास्थ्य परीक्षण, महोत्सवमा ट्राफिक स्टल प्रदर्शनी, विद्यालयमा ट्राफिक शिक्षा लगायतका विविध सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

ट्राफिक प्रहरीको पहलमा सर्लाहीको कर्मैया र फुलजोर क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरी आधुनिक टिभिआरएस प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ । ईश्वरपुर नगरपालिकाको समन्वयमा फुलजोर ट्राफिक पोस्टको प्रशासनिक भवन निर्माण गरेर सेवा विस्तार गरिएको छ ।

प्रहरीका अनुसार प्रविधिमैत्री प्रणालीको प्रयोग, स्थानीय तहको सहकार्य र जनचेतनामूलक प्रयासमार्फत आगामी दिनमा सर्लाही जिल्लालाई अझ सुरक्षित ट्राफिक प्रणालीतर्फ उन्मुख गरिने लक्ष्य लिइएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय