धनुषामा घुमुवा काण्ड: एसपी खड्काले मुख्यालयको निर्देशन अवज्ञा गर्दै फेरि परिचालन गरे घुमुवा

धनुषा । सशस्त्र प्रहरी बलले मधेस प्रदेशमा फेरि घुमुवा अपरेसन तीव्र बनाएको छ। संगठन प्रमुख राजु अर्यालले नेतृत्व सम्हालेपछि तराईका जिल्लामा वर्षौँदेखि सक्रिय घुमुवामाथि शुद्धीकरण अभियान चलाए पनि हाल पुनः घुमुवाहरू असुली धन्दामा सक्रिय हुन थालेका छन्।

मुख्यालयको निर्देशनविपरीत धनुषा स्थित सशस्त्र प्रहरी ८ नम्बर गणका एसपी निर्मल खड्काले घुमुवा परिचालन गरेको भन्दै आलोचना हुन थालेको छ। उनीद्वारा परिचालित घुमुवा मनोज यादव र अजय मण्डललाई मुख्यालयले छानबिनका लागि काठमाडौं तानेको छ। साथै, महिनाथपुरस्थित प्रस्तावित गुल्मका डिएसपी सिताराम पौडेलद्वारा परिचालित धनञ्जय यादवलाई समेत छानबिनमा तानिएको छ।

तीनै घुमुवामाथि एक सातादेखि अनुशासन र आर्थिक संकलनसम्बन्धी आरोपमा छानबिन भइरहेको बताइएको छ। तर यति भएपछि पनि एसपी खड्का रोकिएनन्। मुख्यालयले दुई घुमुवा तानेपछि उनले फेरि लोकबहादुर कार्कीलाई घुमुवाको रूपमा परिचालन गरेका छन्।

घुमुवाको नाममा हुने अवैध असुली, मिलेमतोमा छापा अभियान, र रकम तिर्ने व्यापारीको जोगाउने र नतिर्नेको सामान बरामद गर्ने प्रवृत्तिले सशस्त्र प्रहरी बलको छवि लगातार धुमिल बनिरहेको छ। कतिपय घुमुवा सिधै प्रहरी महानिरीक्षकको सचिवालयको नाम लिँदै काममा लाग्ने गरेको आरोप लाग्दै आएको छ।

सशस्त्र प्रहरी बलभित्रै अनुशासनको चरम लङ्घन देखिन थालेपछि अब मुख्यालयले लोकबहादुर कार्कीको भूमिकामाथि पनि ध्यान दिनेछ कि भन्ने चासो बढेको छ।

एसपी निर्मल खड्का यसअघि पर्सामा डिएसपी रहँदा पनि विवादित बनेका थिए। अब धनुषामा पुनः घुमुवा अपरेसनको नाममा हुने असुली धन्दा, अवैध परिचालन र मुख्यालयको निर्देशनको अवज्ञामा संलग्नमाथि संगठनले कस्तो कारबाही गर्छ, त्यसतर्फ सबैको ध्यान गएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय