सिरहा । सिरहाको गोलबजारमा सामान्य घरेलु विवादले ज्यानै जाने घटना घटेको छ। आफ्नै भाइको खुकुरी प्रहारबाट एक दाजुको ज्यान गएको हो।
गोलबजार नगरपालिका–३, मुसहरनियाँ पुराण्डिहामा बिहीबार राति भएको पारिवारिक विवादले रक्तरञ्जित मोड लिएको हो। २५ वर्षीय श्याम सदा र उनकी श्रीमती कौशिल्या देवी सदा (अन्दाजी १९ वर्ष) बीचको झगडा छुट्याउन खोज्दा ३५ वर्षीय मोतिराम सदा (ललाहा भनेर चिनिने) को ज्यान गएको हो।
प्रहरीका अनुसार, झगडा चर्किँदा रिसले अन्धा बनेका श्यामले घरमै रहेका खुकुरी निकालेर आफ्नै दाजु मोतिरामको छातीमा प्रहार गरेका थिए। गम्भीर घाइते मोतिरामलाई तत्कालै लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्।
घटनापछि श्याम सदा जंगलतर्फ भागेका छन्। इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले रातिदेखि नै उनको खोजी तीव्र बनाएको छ।
प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार, घटनाको गम्भीरता बुझेर अनुसन्धान अघि बढाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि लहान अस्पतालमै राखिएको छ।
सामान्य झगडा पनि ज्यान जान सक्ने अवस्थामा पुग्दा समुदायमा शोक र स्तब्धता फैलिएको छ।



