१२ वर्षे छोराको मोबाइलमा कटुवा पेस्तोल देखिएपछि बाबु-छोरा पक्राउ, पेस्तोल घरको भित्ताबाट बरामद

सर्लाही । सर्लाहीको मलंगवामा ट्राफिक चेकिङको क्रममा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–६, सुखैनियाका मोहन पासवान र उनका छोराका रुपमा रहेका रामहुलास पासवान रहेका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकी अगाडि संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल जाँच गर्दा चालक मोहन पासवानसँग सवारीसम्बन्धी कागजपत्र फेला परेन । उनले कागज मोबाइलमा रहेको भन्दै देखाउन खोज्दा उनका १२ वर्षीय छोरा नवल पासवानको मोबाइलमा कटुवा पेस्तोल ताकिरहेको फोटो भेटिएको प्रहरीले जनाएको छ ।

उक्त विषयमा सोधपुछ गर्दा मोहन पासवानले ती फोटोमा देखिएको व्यक्ति आफ्नै छोरासमेत रहेका रामहुलास पासवान भएको खुलाएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले रामहुलासलाई पनि नियन्त्रणमा लिएको थियो ।

रामहुलासले पेस्तोल घरकै पूर्वपट्टि भित्तामा कपडाले बेरिएको अवस्थामा राखेको बताएका थिए । प्रहरीले उनको भनाइअनुसार त्यहाँबाट कटुवा पेस्तोल बरामद गरेको छ ।

हाल दुवैलाई आवश्यक अनुसन्धानको लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय