बिरामीका आफन्तमाथि डाक्टरकै हातपात, विवादले ठप्प भएको सेवा फेरि सुरु

सर्लाही । सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा दुई दिन रोकिएको सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार भएको सामान्य विवादपछि असन्तुष्ट चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका थिए ।

विवादको सुरुवात अस्पतालका अर्थोपेडिक विशेषज्ञ डा. कृष्णजङ्ग साह र एक सवारी दुर्घटनाका बिरामीका आफन्तबीच भएको भनिएको छ । प्रारम्भमा डा. साहले आफन्तहरूमाथि दुर्व्यवहार गरेपछि अवस्था जटिल बनेको थियो । तर, विभिन्न स्थानीय मिडियामा ‘चिकित्सकमाथि हातपात’ भएको दाबी गरेर समाचार प्रकाशित भएपछि बिरामीका आफन्त झन् पीडित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बुधबार साँझसम्म चलेको छलफलपछि चिकित्सक र बिरामी पक्षबीच सहमति जुटेको हो । प्रहरीको मध्यस्थतामा भएको सहमति अनुसार डाक्टरहरू बिहीबारदेखि पुनः नियमित काममा फर्किएका छन् । अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहका अनुसार सेवा नियमित भएसँगै ओपीडीसहित सम्पूर्ण सेवा खुला भएको छ ।

अस्पताल बन्द रहँदा सर्वसाधारण बिरामीहरू निकै समस्यामा परेका थिए । यसबीचमा निजी अस्पताल र क्लिनिकहरूले बिरामी तान्न अस्पताल गेटमै सक्रियता देखाएको स्थानीयले बताएका छन् । सेवा सुचारु भएसँगै अस्पतालमा बिरामीको चाप उल्लेख्य रुपमा बढेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय