गौशालामा बजार र जग्गा विवाद : दुई पक्षबीच झडप, पाँच घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा सोमबार बिहान बजारको स्वामित्व विवाद चरममा पुग्दा दुई पक्षबीच तानातान र झडप भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।

झडपमा गौशाला नगरपालिका–२ का वडाअध्यक्ष श्यामसुन्दर मण्डल, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन्। त्यस्तै वडा–४ का दाजुभाइ विपिन साह र सुनिल साह पनि घाइते भएका छन्। प्रहरीका अनुसार अधिकांश घाइतेको टाउकोमा भाटाले प्रहार गरिएको थियो। गम्भीर घाइते वडाअध्यक्ष मण्डलसहित तीनजनालाई काठमाडौँ रेफर गरिएको छ भने साह दाजुभाइको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

जग्गा र बट्टी रकमको विवाद

गौशाला नगरपालिका–५ स्थित कित्ता नं. ८२, ८३ र ८४ को करिब २ विगाह १९ कट्ठा ११ धुर जग्गाको लालपुर्जा निगौल गाई गौशालाको नाममा छ। सो जग्गामा वर्षौँदेखि गोरु बजार लाग्दै आएको छ।
वि.सं. २०७० मा तत्कालीन नमुना गाउँ विकास समिति र गाई गौशालाबीच बजारको आम्दानीको २५ प्रतिशत रकम गौशालालाई दिने सहमति भएको थियो। तर, आर्थिक वर्ष २०७३/७४ पछि सो रकम नदिइएको भन्दै विवाद सुरु भएको निगौल गाई गौशालाका प्रमुख विर बहादुर चौधरीको आरोप छ। चौधरीका अनुसार करिब पाँच करोड रुपैयाँ नगरपालिकाबाट पाउनुपर्ने भए पनि हालसम्म एक रुपैयाँ पनि नपाएको बताए।

दुवै पक्षको आरोप–प्रत्यारोप

गाई गौशालाले यस वर्ष बजार आफैं सञ्चालनमा लिएको र नगरपालिका पक्षले प्रहार गरेको आरोप लगाएको छ। चौधरीका अनुसार, नगरपालिकालाई बजार ठेक्का नलगाउन अग्रिम पत्राचार गरिएको थियो।

उता, गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र कुमार महतोले मंगलबार पत्रकार सम्मेलन गर्दै गाई गौशालाका केही कर्मचारी र असामाजिक तत्वहरूले विधिसम्मत बजार ठेक्कालाई अवरुद्ध गर्न खोजेको र सो क्रममा वडाअध्यक्षसहितका व्यक्तिहरू घाइते भएको आरोप लगाए।

उनले नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हाटबजारको व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भन्दै नगरपालिकाले कानुनी रूपमा ठेक्का लगाएको स्पष्ट गरे। नगरप्रमुख महतोले नगरपालिकाको कार्यमा हस्तक्षेप गर्ने र आक्रमणमा संलग्नमाथि कानुनी कारबाहीको माग गरेका छन्।

निगौल गाई गौशालाले विवाद समाधानका लागि बुधवार बिहान सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय