सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा तेल बोक्ने खाली ट्याङकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्याङकर र विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल ठोक्किँदा हरिवन नगरपालिका–४ सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतान गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते स्याङतानलाई प्रारम्भिक उपचारका लागि लालबन्दी मोडेल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइयो । तर, डाक्टरले अस्पताल पुर्याउनेबित्तिकै मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ईलाका प्रहरी कार्यालय नवलपुरका प्र.ना.नि. भरत साहको टोलीले ट्याङकर, मोटरसाइकल र चालक सुनसरी, रामधुनी नगरपालिका–९ का ३२ वर्षीय अरबिन्द महतोलाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमपछि सोही दिन बेलुकी ७ बजे उनका बुबा जितबहादुर स्याङतानलाई बुझाइएको प्रहरीले जनाएको छ ।



