रौतहट । रौतहटको गरुडा नगरपालिका–४ स्थित चपुर–गौर सडकखण्डमा मंगलबार बिहान प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। नियमित सवारी चेकजाँचका क्रममा ग ३ च ६८९६ नम्बरको रातो कारबाट करिब १३३ किलो गाँजा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय, गरुडाका अनुसार चपुरबाट गौरतर्फ गइरहेको कारलाई चेकजाँच गर्ने क्रममा चालकले प्रहरी देखेपछि भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा गाडी झाझपुल नजिकै सडकको खाल्टोमा खस्दा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। गाडीको डिक्की खोल्दा १३ वटा प्लास्टिकका पोकामा लुकाइएको गाँजा भेटिएको प्रहरीले जनाएको छ।
घटनापछि चालक फरार भएका छन्। बरामद कार र गाँजा इलाका प्रहरी कार्यालय, गरुडाको नियन्त्रणमा राखिएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।
प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ।



