निकासी कर खारेजीको मागमा लालबन्दीका किसानद्वारा राजमार्ग अवरुद्ध

सर्लाही । तरकारीमा लालबन्दी नगरपालिकाले लगाएको निकासी कर खारेजीको माग गर्दै सर्लाहीका तरकारी किसानहरू आइतबार सडक आन्दोलनमा उत्रिएका छन् । बिहानैदेखि किसानहरूले लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेपछि राजमार्गमा सवारीसाधनको लामो जाम लागेको थियो ।

लालबन्दीको कृषि उपज संकलन केन्द्रमा ल्याइएका तरकारी व्यापारीहरूले खरिद नगरेपछि तरकारी खेर जान थालेका थिए । महँगो बिउँ र अथक मेहनतले उत्पादन गरेका तरकारी व्यापारीले खरिद नगर्दा बाध्य भएर आन्दोलनको बाटो समातिएको किसानहरूले बताए ।

कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार नगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी निकासी कर तोक्दा थोक व्यापारीहरूले खरिद गर्न छाडेका छन् । “नगर प्रमुख, दल र व्यापारीबीच छलफल भए पनि नगरसभाबाट निर्णय हुन बाँकी छ । यस कारण व्यापारीले खरिद नगरेका हुन्,” थपलियाले भने ।

लालबन्दी बजार बोडी, गोलभेँडा, परबल, भेन्टा लगायतका तरकारीका लागि प्रख्यात मानिन्छ । यहाँका तरकारी संघीय राजधानीदेखि पोखरा लगायतका ठूला शहरसम्म आपूर्ति हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले किसानले केही समय राजमार्ग अवरुद्ध पारेको बताए । लालबन्दी नगरपालिकाले कर हालका लागि नलिने सहमति भएपछि किसानले आन्दोलन स्थगित गर्दै राजमार्ग सुचारु भएको उनले जानकारी दिए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय