इलाममा ७६ वर्षे वृद्धलाई झूटो मुद्दामा २० दिन जेल, अन्ततः निर्दोष प्रमाणित

इलामको सन्दकपुर गाउँपालिका–५, जमुनाका ७६ वर्षीय तिलबहादुर गुरुङले नगरेको अपराधका कारण २० दिन जेल बस्नुपरेको छ। उच्च अदालत इलाम इजलाशले साउन १ गते बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश दिँदै गुरुङलाई थुनामुक्त गरेको हो।

अदालतको आदेशअनुसार, पक्राउ परेका गुरुङ र ४५ वर्षअघिको कर्तव्यज्यान मुद्दाका प्रतिवादी एउटै व्यक्ति नभएकाले उनी निर्दोष ठहरिएका हुन्।

गुरुङलाई असार १७ गते इलाम प्रहरीले घरबाटै पक्रेको थियो। उनलाई पक्राउ गरेपछि प्रहरीले ‘फरार दोषी ४५ वर्षपछि पक्राउ’ भनेर सूचना समेत सार्वजनिक गरेको थियो। त्यसपछि असार १८ गते जिल्ला अदालतको आदेशअनुसार गुरुङलाई कारागार चलान गरिएको थियो।

तर, गुरुङको परिवारले यो अन्याय भएको भन्दै उच्च अदालतमा रिट दायर गरेपछि उच्च अदालतले जिल्ला अदालतको कैदपुर्जी कानुनसम्मत नभएको ठहर गर्दै उनलाई छुटाइदियो।

उच्च अदालतको फैसलाअनुसार, २०३८ साल जेठ १२ गते कर्तव्यज्यान मुद्दामा १० वर्षको कैद सजाय पाएका व्यक्ति र अहिले पक्राउ परेका गुरुङ एउटै नभएको पुष्टि भएको हो।

थुनामुक्त भएपछि तिलबहादुरले आफू निर्दोष हुँदाहुँदै पनि जेलमा पारिएको घटनाले स्तब्ध बनाएको बताए। उनका छोराले अन्यायविरुद्ध लडेर न्याय पाएको प्रतिक्रिया दिए।

यसैबीच, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले अदालतको आदेशअनुसार फरार दोषी पक्राउ गरिएको दाबी गर्दै भने, “नाम, ठेगाना सबै मिल्थ्यो, र पक्राउ व्यक्तिले पनि आफू नै त्यही घटनामा संलग्न रहेको स्वीकारेका थिए।”

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय