जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाममा नक्कली फेसबुक पेज सञ्चालनमा आएको खुलेको छ।
प्रहरी कार्यालयको नाम र लोगो दुरुपयोग गरेर ‘Madheshpolice Janakpurdham’ नामको फर्जी पेजमार्फत भ्रामक सामग्री पोष्ट गरिएको पाइएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले त्यस्ता नक्कली पेज र अफवाहप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार, कार्यालयको आधिकारिक फेसबुक पेज ‘Madhesh Province Police Office, Janakpurdham’ मात्र हो।
“नेपाल प्रहरीको लोगो र नाम दुरुपयोग गरी सञ्चालित नक्कली पेजबाट अफवाह फैलाइएका छन्,” विज्ञप्तिमा भनिएको छ, “यस्ता फेक पेजहरूबाट फैलाइने हल्ला र अफवाहमा नपर्नुहोस्।”
प्रहरीले फर्जी पेजका सामग्रीहरूमा लाइक, कमेन्ट र शेयर नगर्न समेत सबैमा अनुरोध गरेको छ।



