ब्लु डायमण्ड सोसाइटीमा लिंग परिवर्तनको अवैध अभियान, समुदायमै आक्रोश

काठमाडौं — लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नाममा स्थापित ब्लु डायमण्ड सोसाइटी विवादमा तानिएको छ। लिंग परिवर्तनका नाममा गैरकानुनी काम, आर्थिक अपचलन र मनपरी नेतृत्वको आरोप सार्वजनिक भएको छ।

संस्थाका संस्थापक सुनिल बाबु पन्तलगायत पूर्वसदस्यहरू, निकालिएका कर्मचारी र अधिकारकर्मीहरूले पत्रकार सम्मेलन गर्दै गम्भीर आरोप लगाएका छन्।

उनीहरूका अनुसार सरकारसँग कुनै कानुनी आधार नभएको अवस्थामा मानसिक रूपमा अस्थिर व्यक्तिलाई सल्लाहकार बनाइ लिंग परिवर्तन सर्जरी गराउने, यौन गतिविधिका लागि सम्मान गृह प्रयोग गर्ने, तथा विदेशी दाताहरूबाट आएका रकम पारदर्शी रूपमा प्रयोग नगरी सीमित व्यक्ति मात्रै फाइदा लिने गरिएको छ।

“हामी पहिचानका लागि लडिरहेका छौं, उनीहरूले त हाम्रो अस्तित्वमाथि नै खेलवाड गरे,” पत्रकार सम्मेलनमा बोल्नेहरूको गुनासो थियो।

पत्रकार सम्मेलनमा पूर्वकर्मीहरू चञ्चला (नुमा लिम्बु), सन्ध्या लामा लगायतले ब्लु डायमण्ड सोसाइटीको नेतृत्व तत्काल फेर्न माग गरे। उनीहरूले सरकार र मानवअधिकार आयोगलाई छानबिनका लागि आग्रहसमेत गरे।

‘भवन कब्जा, समुदाय बाहिर’

ब्लु डायमण्ड सोसाइटीकै अगुवा रहेकी चञ्चला (नुमा लिम्बु) र अन्य अभियन्ताहरूले समुदायकै लागि बनेका भवनहरूमा निजीकरण गरिएको भन्दै आक्रोश पोखे।

“हामीलाई एउटा अफिस राख्न नदिने, खाली भवनहरू यत्तिकै राख्ने? यस्तो मनपरी कति दिन सहने?” चञ्चलाले भनिन्।

अभियन्ता सन्ध्या लामाले थपिन्, “जसले समुदायको नाममा भवन बनाए, अहिले ती भवनमा आफूखुसी मान्छे राखेर मनपरी गर्दैछन्। समुदायका पीडित, एचआईभी संक्रमितका लागि खोलिएका सम्मान गृहहरू यौन क्रियाकलापको अखडा बनेका छन्।”

‘लिंग परिवर्तन अभियान, मानसिक सन्तुलनहीनता’

अभियन्ताहरूको आरोप छ— ब्लु डायमण्ड सोसाइटीले मनोवैज्ञानिक रूपमा अस्थिर व्यक्तिहरूलाई पनि हर्मोन खाने र लिंग परिवर्तन सर्जरीतर्फ उक्साएको छ।

सन्ध्या लामाले खुलस्त भनिन्, “हामीले आफूलाई ‘सुन्दरी’ देखाउन लिंग परिवर्तन गर्यौं। तर अहिले पछुतो लागेको छ। शरीरलाई अनावश्यक छेडछाड गर्दा भोलि स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने चेतना नदिइकन यस्तो सर्जरी गराइन्छ।”

अभियन्ताहरूका अनुसार, पछिल्लो समय ‘सुन्दरी बन्ने होड’ का नाममा हर्मोन खाएर स्वास्थ्य जोखिम बढाउने प्रवृत्ति बढेको छ।

सुनिल बाबु पन्तको चासो : ‘मुक्ति भनेको लिंग परिवर्तन होइन’

ब्लु डायमण्ड सोसाइटीका संस्थापक र पूर्वअध्यक्ष सुनिल बाबु पन्तले आफूहरू नै संस्थाबाट बहिष्कृत भएको भन्दै चिन्ता व्यक्त गरे।

“मुक्ति भनेको महिला वा पुरुष बन्नु होइन। आफ्नो प्राकृतिक स्वरूप स्वीकार्नु नै मुक्ति हो,” पन्तले भने, “तर अहिलेको नेतृत्व लिंग परिवर्तनलाई नै समाधान ठान्छ। यो भ्रामक धारणा हो।”

पन्तले पश्चिमा फन्डिङले लिंग परिवर्तन सर्जरीलाई अनावश्यक प्राथमिकता दिएको आरोपसमेत लगाए। “घरवारविहीन, एचआईभी संक्रमित, प्यारालाइसिस भएका व्यक्तिहरूको दुःख हेर्दैनन्, तर सर्जरीका लागि पैसा दिन्छन्,” उनले प्रश्न उठाए।

‘सम्पत्तिमा हकमाथि कब्जा’

अभियन्ताहरूले ब्लु डायमण्डका भवन, जग्गा र सवारीसाधनलाई निजीकरण गरेर सीमित समूहको स्वार्थमा प्रयोग गरिएको आरोपसमेत लगाए।

“युएसएआईडीले फण्ड रोकिदिएपछि भवनहरू खाली छन्। हामी अफिस राख्न माग गर्छौं, तर दिन मानेका छैनन्,” चञ्चलाले भनिन्।

पन्तले भने, “त्यो सम्पत्ति समुदायकै हो। दुःखमा समुदायको साथ दिनुपर्ने हो। तर अहिले सानो समूहले कब्जा जमाएर आफ्नै स्वार्थमा चलाएको छ।”

मानसिक स्वास्थ्य परियोजनामा मनपरी

सन्ध्या लामाले ब्लु डायमण्डमा मानसिक स्वास्थ्य परियोजनामा पनि मनपरी भएको दाबी गरिन्। “काउन्सिलर बन्न तालिम लिएका नभई मनपरेका व्यक्तिलाई राखिएको छ,” उनले भनिन्।

गम्भीर चेतावनी

सन्ध्या लामाले चेतावनी दिँदै भनिन्, “यदि समुदायलाई भवन दिनुहुन्न भने हामी ताला लगाउन बाध्य हुनेछौं। समुदायलाई कमजोर नठान्नुस्।”

समलिंगी विवाहको भ्रम छर्नेहरूलाई चुनौती

अभियन्ता सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलो कानुनी रूपमा दर्ता भएको समलिंगी विवाह आफैंले गराएको भन्दै त्यसको क्रेडिट हत्याउनेहरूलाई चुनौती दिए।

“दुई दर्जन विवाह दर्ता भएको भनेर प्रमाणबिना प्रचार गर्नेहरू गलत छन्,” उनले भने।

संकटको घेरामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

पहिचान, नागरिकता, लिंग परिवर्तन, सामाजिक स्वीकृति, स्वास्थ्य तथा कानुनी सुरक्षामा रहेको बहस झनै जटिल बन्दै गएको छ।

समुदायकै भित्रबाट उठेका गुनासो र आक्रोशले राज्य, संस्थाहरू र नीतिनिर्मातालाई गम्भीर समीक्षा गर्न बाध्य पारेको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय