हरैयामा विकासको नाममा लुटतन्त्र : नाला र भवन निर्माणमा खुलेआम अनियमितता, विरोध गर्दा धम्की

सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–४, हरैयामा प्रदेश सरकारको बजेटबाट सञ्चालित विकास योजनाहरूमा गम्भीर अनियमितता भएको खुलेको छ । ठेक्कापट्टा र निर्माणको नाममा गुणस्तरहीन सामग्री प्रयोग गरी योजना मनपरी तरिकाले सञ्चालन भएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूका अनुसार, योजना विरोध गर्न खोज्नेहरूलाई धम्कीसमेत दिने गरिएको छ ।

हरैयामा नाला निर्माणका क्रममा ठेकेदार राजेन्द्र शाहले वडा अध्यक्ष सञ्जय प्रसाद शाहसँगको मिलेमतोमा खुलेआम दुई नम्बर ईटा प्रयोग गरी काम अगाडि बढाएका छन् । स्थानीयले निर्माणस्थलमै पुगेर सामग्री परीक्षण गर्दा इँटाको गुणस्तर निकै कमजोर रहेको पाइएको थियो । तर आवाज उठाउनेहरुलाई उल्टै वडा अध्यक्षले धाकधम्की दिने गरेको स्थानियको गुनासो छ ।

त्यस्तै, ‘जनता माध्यमिक विद्यालय’ हरैयाको नयाँ भवन निर्माणमा पनि कमिसनको खेलमा संलग्न हुँदै त्यही गुणस्तरहीन दुई नम्बर ईटा प्रयोग गरिएको खुलासा भएको छ । स्थानीयको आरोप अनुसार विद्यालय निर्माणमा भएको बजेटको ठूलो हिस्सा कमिसनका नाममा बाँडिएको छ, जसका कारण संरचना कमजोर बनेको छ । “विद्यालयजस्तो संवेदनशील क्षेत्रमा समेत यस्तो खेल, अब के बाँकी रह्यो?” भन्दै एक अभिभावकले आक्रोश पोखे ।

यति मात्र होइन, नाला र बाटो निर्माणको अर्को योजनामा पनि मनपरी भएको पाइएको छ । राम सेबक रामको घरदेखि तिर्थलाल शाह र सोगारथ राउतको घरसम्म नाला तथा बाटो निर्माणको योजना प्रदेश सरकारबाट पारित भए पनि वडा अध्यक्षले आफ्नो प्रभाव प्रयोग गर्दै योजना मोडेर धर्मलालको घरदेखि नरेश रायको घरसम्म नाला बनाउँदैछन् । स्थानियवासीले यसविरुद्ध आवाज उठाउँदा उनीहरूलाई समेत धम्की दिइएको बताइएको छ ।

“बजेट आउँछ, योजना बनाइन्छ, तर काम गर्ने बेला योजना घुमाइन्छ । विरोध गर्‍यौं भने वडा अध्यक्ष आफैँ ठूला नेता बनेर धम्की दिन्छन्,” एक स्थानीय युवा भन्छन्, “यो सरासर जनताको पैसामाथि खेलवाड हो ।”

यस्ता एकपछि अर्को खुलासा भएपछि स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल अनुगमन तथा छानबिन गर्न माग गरेका छन् । उनीहरूले दोषीहरूमाथि कानुनी कारवाही गर्न दबाब दिँदै यस्ता अनियमितताको अन्त्य हुनु पर्ने बताएका छन् ।

हरैयामा अहिलेको विकास होइन, भ्रष्टाचारको रेखाचित्र कोरिँदै गएको स्थानीयको गुनासो छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय