अभिनास झाकी पत्नी अँसा सदा घरमै मृत फेला, जनकपुरमा रहस्यमय घटना

जनकपुरधाम । चर्चित मैथिली कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति भएको उक्त घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास र अँसाले केही महिना अघिमात्र विधिपूर्वक गृह प्रवेश गरेका थिए । सामाजिक सञ्जालमा उनीहरूबीचको प्रेम र समर्पण खुलेर अभिव्यक्त हुँदै आएको थियो। तर सोमबार राति अँसा सदा घरमै मृत भेटिएपछि घटना रहस्यमय बन्दै गएको छ ।

घटनास्थलमा प्रहरीको टोली परिचालित रहेको र मुचुल्का उठाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, “मृतकको माइती पक्ष नआएकाले शव परीक्षण प्रक्रिया अघि बढ्न सकेको छैन । उनीहरू आएपछि मात्र पोष्टमार्टम हुनेछ।”

हालसम्म प्रहरीले आत्महत्याको आशंका गरिरहेको जनाएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट प्राप्त नभएसम्म घटनाको कारणबारे निश्चित रूपमा भन्न नसकिने बताइएको छ ।

घटनापछि कलाकार अभिनास झा गहिरो मानसिक तनावमा रहेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । नोचा पोखरी नजिकैको घटनास्थलमा भीड लागेपछि जनकपुरधाम–१२ र २० का स्थानीयवासी त्रसित बनेका छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय