सप्तरी । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई घुसकाण्डमा संलग्नताका कारण पदबाट हटाइएको छ। प्रहरी प्रधान कार्यालयले उनलाई हटाउने निर्णय त्यसपछि गर्यो, जब सामाजिक सञ्जालमा उनका एक वरिष्ठ सई घुस लिँदै गरेको भिडियो सार्वजनिक भयो।
प्राप्त जानकारीअनुसार, फरार अभियुक्तलाई नपक्रने सर्तमा वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत घुस लिइएको प्रारम्भिक छानबिनमा खुलेको छ। पीडितले पटक–पटक गरी १० लाख रुपैयाँसम्म घुस दिइसकेको दाबी गरेका छन्।
घटनाको गम्भीरताका कारण अनुसन्धान अघि बढाउन एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। खतिवडाको स्थानमा हाल सप्तरीमा एसपी गौतम केसीलाई जिम्मेवारी दिइएको छ।



