सर्लाहीमा सर्पको डसाइले एक महिलाको मृत्यु, स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव भएन

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–११ की ३६ वर्षीया मुना राईको सर्पको डसाइबाट मृत्यु भएको छ ।

आइतबार बिहान करेसाबारीमा तरकारी टिप्दै गर्दा राईलाई पहिचान नभएको विषालु सर्पले डसेको परिवारजनले बताएका छन् । अवस्था गम्भीर देखिएपछि उनलाई तत्कालै लालबन्दी नगरपालिका–१ मा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

तर केन्द्रमा आवश्यक सुविधा तथा चिकित्सकको अभावका कारण उपचार सम्भव भएन । त्यसपछि उनलाई जनकपुरस्थित अस्पताल रेफर गरिएको थियो । जनकपुर पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारको भनाइ छ ।

उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलका अनुसार केन्द्रमा भेन्टिलेटर तथा आइसियू जस्ता अत्यावश्यक उपकरण छन् तर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति छैन । “हामीकहाँ उपकरण त छन्, तर चलाउने डाक्टर छैनन्,” उनले सेतोपाटीसँग भने, “त्यही भएर गम्भीर बिरामीलाई बाहिर पठाउनु परेको हो ।”

सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मी जगनाथ यादवका अनुसार समयमै उपचार नपाउँदा बाटोमै ज्यान गुमाउने जोखिम बढेको छ । “गाउँघरका अधिकांश घाइतेलाई यहाँ ल्याइन्छ, तर यहाँ उपचार सम्भव नहुँदा रिफर गर्नु परिरहेको छ,” यादवले भने, “तर रिफर गर्दा बाटोमै बिरामीको मृत्यु हुने क्रम बढ्दो छ ।”

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय