अरोज यादव, सर्लाही । समृद्ध र उत्तरदायी बलरा नगर बनाउने लक्ष्यसहित सर्लाहीको बलरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ७६ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले शनिबार सम्पन्न १५औं नगरसभामा नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुति गरेका हुन् ।
नगरसभाको उद्घाटन संविधानसभा सदस्य शिवपुजन यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रस्तुत बजेट तथा नीतिगत दस्तावेजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, सामाजिक सुरक्षा तथा सूचना प्रविधिलाई प्राथमिक क्षेत्रका रूपमा समेटिएको छ ।
नगर प्रमुख कुशवाहाले पारदर्शिता, जनसहभागिता र उत्तरदायित्वलाई मुख्य आधार मानेर विकास योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।
यसअघि सर्लाही जिल्लाका अन्य तीन स्थानीय तह—बागमती नगरपालिका, कौडेना र चक्रघट्टा गाउँपालिकाले पनि आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। बाँकी स्थानीय तहहरू असार १० भित्र बजेट सार्वजनिक गर्ने तयारीमा रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।



