सर्लाहीमा प्रहरीको कार्यशैलीविरुद्ध पाँच दल एकजुट, निर्दोषमाथिको मुद्दा फिर्ता नभए आन्दोलन तीव्र पार्ने चेतावनी

सर्लाही । सर्लाहीमा प्रहरी प्रशासनले निर्दोष नागरिकहरूमाथि झूठा मुद्दा लगाएको आरोपमा प्रमुख पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा सशक्त आन्दोलनको घोषणा गरेका छन् । नेपाली कांग्रेसका केही नेताको इसारामा प्रहरीले गैरकानुनी ज्यादती गरेको भन्दै दलहरूले आपत्ति जनाएका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (जसपा नेपाल), र नेपाल जनमोर्चालगायतका दलहरूद्वारा मलंगवामा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा दलका शीर्ष नेतासहित स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।

वक्ताहरूले सर्लाही प्रहरी प्रशासन राजनीतिक स्वार्थमा संलग्न भएको, जनताको अधिकारमाथि खेलवाड गरेको र प्रहरी संगठनभित्रै सुधारको आवश्यकता रहेको औंल्याए । एमालेका एक स्थानीय नेताले भने, “प्रहरी कांग्रेस नेताको आदेशमा चल्ने होइन, जनताको सेवामा समर्पित हुनुपर्छ। निर्दोषमाथिको मुद्दा खारेज नभए आन्दोलन चर्किनेछ ।”

कार्यक्रममा सहभागी सबै दलहरूले प्रहरीको कार्यशैलीको भर्त्सना गर्दै लोकतान्त्रिक मूल्य, विधि र न्यायको रक्षाका लागि संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै चेतावनी दिए— यदि आवाज नसुनियो भने सशक्त चरणबद्ध आन्दोलन अपरिहार्य हुनेछ ।

यसअघि पनि पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै सर्लाहीमा प्रहरीले गैरकानुनी रूपमा ज्यादती गरेको आरोप लगाएका थिए। विज्ञप्तिमा माओवादी केन्द्र, एमाले, जसपा, जसपा नेपाल र नेपाल समाजवादी पार्टीका जिल्ला तथा प्रदेश नेताहरूको हस्ताक्षर थियो ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय