सर्लाहीमा ‘अद्भुत’ छतिवनको रुख : हाँगाबाट पानी झर्दा स्थानीयले माने ‘देवताको चमत्कार’

सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जस्थित एक पुरानो छतिवनको रुख पछिल्लो समय स्थानीय आकर्षण र चासोको विषय बनेको छ । दुई सातादेखि रुखका हाँगाबाट सिमसिम पानी झरेको जस्तो देखिएपछि आसपासका बासिन्दाहरूले यसलाई दैवी संकेत मानी पूजाआजा गर्न थालेका छन् ।

बस्ती नजिकैको एउटा बङ्गैँचामा रहेको उक्त रुखको हाँगा र फेद ओसिलो देखिएपछि हेर्नेको भिड बढ्दै गएको छ । सामाजिक सञ्जालमा घटना भाइरल भएपछि सर्लाहीको सदरमुकाम मलङ्गवा र अन्य स्थानबाट समेत मानिसहरू रुख अवलोकनका लागि बबरगन्ज पुग्न थालेका छन् ।

स्थानीय बासिन्दा पार्वती यादवका अनुसार पहिलो पटक रुख यति ओसिलो भएको देखिएको हो । “रुखका हाँगाबाट सधैं पानी झरिरहेजस्तो लाग्छ, हामीलाई लाग्यो यो चमत्कार हो,” उनले भनिन् । कतिपयले रुखलाई ‘देवता’ मानेर लड्डु, फूल, धूपबत्ती चढाउँदै पूजाआजा गरिरहेका छन् ।

चन्द्रनगर स्वास्थ्य चौकीका सिनियर अहेब शिवशङ्कर महतोका अनुसार रुखको हाँगाबाट पानी निस्किएको देखिएपछि जाँचको लागि एउटा हाँगा काटेर हेर्दा पानी भने ननिस्केको पाइयो । उनले भने, “रुख हेर्न आउनेको भिड दिनदिनै बढ्दो छ। परीक्षण गर्दा त्यो पानी नभई ओसिलो रस वा किराको असर हुनसक्ने देखिन्छ ।”

उनका अनुसार पछिल्लो केही दिनयता रुखमा मौरीजस्तै देखिने स–साना किराहरू देखा परेका छन् । ती किराहरूको सक्रियताका कारण रुखबाट झोल वा रस निस्किएर हाँगा र फेद ओसिलो देखिएको हुनसक्ने स्थानीयको अनुमान छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले घटनालाई धार्मिक चमत्कारभन्दा पनि प्राकृतिक प्रक्रिया मान्नुपर्नेमा जोड दिएका छन् । “हामीले यसलाई वैज्ञानिक तरिकाले बुझ्ने प्रयास गरिरहेका छौं । यस्तो घटनालाई अन्धविश्वासको रूपमा होइन, अध्ययनको विषयका रूपमा लिनुपर्छ,” उनले भने ।

रुखको रहस्यमय रूप अहिले पनि रहस्यकै विषय बनेको छ । वैज्ञानिक परीक्षण नभएसम्म यसको कारण पूर्णरूपमा पुष्टि भएको छैन, तर स्थानीयको पूजाआजा र श्रद्धा भने यथावत् छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय