काठमाडौ । काभ्रेको पतञ्जली योग पिठसँग जोडिएको विवादास्पद जग्गा हिनामिनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा बिहीबार दायर मुद्दासँगै नेपालको प्रतिनिधिसभा सदस्यता स्वतः निलम्बनमा परेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार राष्ट्रसेवक पदधारीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछिको प्रक्रियामा यो निलम्बन भएको हो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो माग गरिएको छ।
प्रधानमन्त्री भएका बेला (वि.सं. २०६६) मन्त्रिपरिषदबाट हदबन्दी छुटको जग्गा खरिद स्वीकृति दिएका नेपालमाथि कानुन विपरीत रूपमा जग्गा बिक्री गरिएको भन्दै मुद्दा अघि सारिएको हो। आयोगले नेपालसहित ९३ जना विरुद्ध मुद्दा दायर गरेको छ, जसमा पूर्वमन्त्री प्रेमबहादुर सिंह र तत्कालीन सचिव छविराज पन्त पनि छन्।



