सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ स्थित बसतपुर–हरिपुर्वा भित्री सडकखण्डमा शंकास्पद मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।
मिति २०८२ साल जेठ २० गते दिउँसो करीब १:४० बजे, हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) को कमाण्डमा खटिएको गस्ती टोलीले बसतपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज ६ प २३६ नं. को मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्दा मोटरसाइकलमा राखिएको झोलाबाट १० किलो ५०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी ३७ वर्षीय मनोज कुमार महतो र सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय राजेश मलिक (ठेगाना खुलेको छैन) लाई घटनास्थलमै पक्राउ गरिएको हो ।
बरामद गरिएको लागुऔषधसहित दुवै व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध (कसुर तथा सजाय) ऐन, २०३३ बमोजिम कारबाही अगाडि बढाइएको छ । साथै, सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सीमा क्षेत्रका सडकमार्गहरूमा लागुऔषध ओसारपसार हुने गरेको जनाउँदै निगरानी र चेकजाँच अझ कडा बनाइएको जनाएको छ ।



