सर्लाही : मंगलवार दिउँसो सर्लाहीमा भएको एक सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी जवान मिन बहादुर दानीको उपचारका क्रममा मृत्यु भएको छ ।
लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तरतर्फ हाईवे क्रस गर्दै गरेको BR 01 FJ 6961 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक दानी गम्भीर घाइते भएका थिए ।
उनी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ का स्थायी बासिन्दा भएको पुष्टि भएको छ । उनी सशस्त्र प्रहरी बल गण नं. १, गुल्म नं. २ नक्सालमा कार्यरत थिए । हाल उनी सर्लाहीको मलंगवा नगरपालिका–३ मा मुस्लिम आयोगका सदस्य मोहमद सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए ।
दुर्घटनामा उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । प्रारम्भिक उपचारपछि उनलाई वीरगंजको नेशनल मेडिकल कलेज लगिएको थियो । त्यसपछि थप उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिए पनि साँझ ५:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर चालक लालबन्दी–१७ रानशिगञ्जका ३६ वर्षीय नारायण दत्त श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ ।



