सर्लाही – सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित उत्तर–दक्षिण सडकखण्डमा लागूऔषध गाँजासहित दुई जना युवा पक्राउ परेका छन् । मंगलबार साँझ प्रहरी गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पुलिस चौकी पर्सा र अस्थायी प्रहरी पोस्ट नोकेल्वा पिपराबाट खटिएको टोलीले लालबन्दीबाट पर्सातर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ५३९४ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गर्दा सवारीमा लुकाइछिपाई राखिएको १० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६, परवानीपुर निवासी १८ वर्षीय गब्बर वाइबा र पछाडि सवार १९ वर्षीय दिपेश वाइबा गाँजासहित पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा सवारीको बीच भागमा लुकाएर ल्याउँदै गरेको खुल्न आएको छ ।
पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीका लागि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार, लागुऔषध कारोबार नियन्त्रण गर्न जिल्लाभर कडाइका साथ निगरानी तथा चेकजाँच अभियान तीव्र पारिएको छ ।



