काठमाडौं : नेपाल प्रहरीका पूर्व नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीको अनुसन्धानका क्रममा आफू सरुवाको शिकार भएको खुलासा गरेका छन्। करिब ३० वर्षसम्म प्रहरी सेवामा रही जघन्य अपराधहरूको अनुसन्धानमा अग्रणी भूमिका निर्वाह गरेका पन्थीले राजनीतिक हस्तक्षेप र धम्कीका कारण आफू सरुवामा परेको आरोप लगाएका हुन्।
पन्थीका अनुसार, वैदेशिक रोजगारको नाममा ठगी र मानव तस्करीमा संलग्न गिरोहमाथि अनुसन्धान गरिरहँदा ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, श्रम तथा अध्यागमन विभाग र प्रहरीका केही कर्मचारीसमेतको संलग्नता खुलेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका १६४१ शंकास्पद राहदानीधारी यात्रुहरूको छानबिन उनकाे नेतृत्वमा भएको थियो। अनुसन्धानपछि करिब ४० जनाविरुद्ध कागज किर्ते, मानव तस्करी र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको थियो।
यस्तो संवेदनशील अनुसन्धानका क्रममा पन्थीलाई फाइल फिर्ता गर्न, अनुसन्धान टुंग्याउन, र मुद्दा कमजोर बनाउन अनेक दबाब दिइएको थियो। सरकारी वकिलसँग मुद्दालाई संगठित अपराधअन्तर्गत लैजान कठिन बहस गर्नु परेको पन्थी बताउँछन्।
‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि पाएका पन्थीले यसअघि पनि निरा पाण्डे हत्या, तार्केश्वर वृद्ध हत्या, र रामघाटमा भारतीय नागरिकको हत्या जस्ता गम्भीर घटनाहरूको सफल अनुसन्धान गरिसकेका थिए। तर, भिजिट भिसा प्रकरणमा ठूला नामहरू जोडिन थालेपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा आफूलाई सरुवा गरिएको पन्थीको आरोप छ।
५८ वर्षको उमेरमा अनिवार्य अवकाशमा गएका पन्थी भन्छन्, “कर्तव्यनिष्ठ अनुसन्धान गर्दा राजनीतिक शक्तिको आडमा हुने अपराधबाट बच्न नसकिने रहेछ।”
उनको कथाले नेपालमा अपराध अनुसन्धानमाथि राजनीतिक हस्तक्षेपको गहिरो प्रभाव उजागर गरेको छ।



