सर्लाही : सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१४ स्थित डाइनी खोला क्षेत्रबाट प्रहरीले ११२ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सोमबार राति १० बजे इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती टोलीले उक्त गाँजासहितको कारबाही गरेको हो।
पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय सोमबहादुर तामाङ रहेका छन्, जो डाइनी खोलानजिकैका स्थायी बासिन्दा हुन्। तामाङले गाँजा ओसारपसारका लागि प्रयोग गरेको बीआर ३२ एएन ०८१७ नम्बरको भारतीय स्कार्पियो गाडी र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
गाँजा प्लास्टिकमा प्याक गरी ओसारपसार गरिँदै थियो। प्रहरीले घटनास्थलमा पुग्दासँगै कारोवारमा संलग्न अन्य व्यक्ति भने भाग्न सफल भएका छन्। अहिले फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ परेका तामाङमाथि मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।



