सर्लाहीमा दुई छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
सर्लाहीमा मङ्गलबार दुईओटा छुट्टाछुट्टै घटनामा तिन जनाको मृत्यु भएको छ । एक घटनामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्को घटनामा करेन्ट लागेर एक जना पुजारीको ज्यान गएको छ ।
पहिलो घटना बागमती नगरपालिका–२, जिरायतमा अपरान्ह ४ बजे भएको हो । पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा रौतहट बिसुनपूर्वाका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौं बसन्तपुरका ३० वर्षीय विवेक मानन्धर गम्भीर घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो तर डाक्टरले मृत घोषणा गरे ।
दुर्घटनामा भारत बिहारकी ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् । उनीहरूको बागमती मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।
दुर्घटनाको कारण तीव्र गति रहेको अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैदिन दोस्रो घटना बलरा नगरपालिका–५ मा भएको हो । पूजा गर्न गएका गोडैता नगरपालिका–२ का ७० वर्षीय पुजारी महादेव महतोको करेन्ट लागेर ज्यान गएको हो ।
विजय महतोको घरमा पूजा सकेर चापाकलबाट पानी खाने क्रममा करेन्ट लागेको थियो । घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो, तर डाक्टरले उनलाई मृत घोषणा गरे ।
शव हाल पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।



