मोरङ : कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा चासो देखाउँदै गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्रको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि सशस्त्र प्रहरी बलले कडा कदम चालेको छ।
वैशाख ३१ गते सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रीले तस्करीलाई ३० दिनभित्र नियन्त्रणमा ल्याउन निर्देशन दिएका थिए। सो निर्देशनपछि रानी नाकास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा कार्यरत डिएसपी ऋषिकेश राउतलाई हटाएर डिएसपी अमर खत्रीलाई पठाइएको छ।
सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीका प्रमुख डिआइजी कुमार न्यौपानेका अनुसार रानी नाकामा भएका गतिविधिहरू सन्तोषजनक नरहेकाले कमाण्डमा हेरफेर गरिएको हो। “हामीले परिणाममुखी कार्यको अपेक्षा गरेका थियौँ, त्यही अनुसार निर्णय भएको हो,” उनले भने।
यसअघि सशस्त्र प्रहरी प्रमुख आइजिपी राजु अर्यालले समेत कार्यक्षमतामा सुधार नआए कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका थिए। उनले तीन–तीन महिनामा स्थायी कार्यालयहरूको पुनरावलोकन गरिने र कमजोर कार्यसम्पादन देखिएमा आवश्यक कारबाही हुने बताएका थिए।
सरकारको यस्तो कठोर कदमले तस्करी रोकथाममा सुरक्षाकर्मीमाथि थप जिम्मेवारी बढेको स्पष्ट देखिएको छ।



