सर्लाही — सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ स्थित भेल्ही–फुलजोर सडकखण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दुर्घटना राति करिब ८ बजेको समयमा बयलबासबाट भेल्हीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले दुई जना पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर दुर्घटना भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका ५० वर्षीय राम प्रताप पण्डितको एलएस न्यूरो अस्पताल, बिरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ निवासी थिए ।
दुर्घटनामा ५६ वर्षीय झब्सी सहनी छाती र कम्मरमा सामान्य चोट लागेर उपचारपश्चात् राति नै घर फर्किएको छ ।
मोटरसाइकल चालक भारत बिहार राज्य, सीतामढी जिल्लाको सोनबरसा थाना निवासी २२ वर्षीय बिरजन पटेलको दाहिने आँखा, कान र खुट्टामा मध्यम चोट लागेको छ भने पछाडि सवार ५४ वर्षीय हजारी प्रसाद रौनियारको निधार र आँखामा चोट लागेको छ । दुवै घाइतेको बिरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ ।



