दिल्लीको वेश्यालयमा बेच्न लागेका नेपाली चेली भारतमै उद्धार, तस्कर युवक एसएसबीको फन्दामा

रौतहट — विभिन्न प्रलोभन देखाउँदै नेपाली युवतीलाई भारतको राजधानी दिल्लीस्थित वेश्यालयसम्म पुर्‍याउन खोज्ने एक युवक भारतीय सीमा सुरक्षा बल (एसएसबी) को फन्दामा परेका छन्।

भारत बिहार राज्यको मोतीहारी जिल्ला अन्तर्गत झरौखर थाना क्षेत्रको जमुनिया नजिक रहेको एसएसबी क्याम्पको टोलीले गएराति युवकसहित एक युवतीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका–१० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेको एसएसबी ७१ औँ बटालियनका कमान्डेन्ट प्रफुल पटेलले जानकारी दिए।

गुप्ताले सिम्रौनगढकै अमृतगन्जकी २० वर्षीया विवाहित युवतीलाई दिल्लीस्थित आफनो सानीआमाले सञ्चालन गर्दै आएको यौन व्यवसायमा लग्ने उद्देश्यले भारत लैजाँदै गरेको बयान दिएका छन्। प्रारम्भमा पटक–पटक बयान फेरे पनि कडाइका साथ सोधपुछ गर्दा उनले आफ्नो उद्देश्य स्विकार गरेको एसएसबीले जनाएको छ।

रौतहट र बाराका सीमावर्ती क्षेत्रहरू हुँदै यस्ता घटना बढिरहेको भन्दै एसएसबीले नेपाली सुरक्षाकर्मीलाई सशक्त निगरानी गर्न सुझाव दिएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले पुष्टि गर्दै आरोपी युवक र युवती दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बारा जिल्ला प्रहरीको जिम्मा लगाइएको जानकारी दिए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय