सर्लाही — सर्लाही जिल्लाको मलंगवामा यातायात कार्यालय स्थापनाका लागि औपचारिक शिलान्यास सम्पन्न भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको प्रमुख आतिथ्यमा भूमि पूजनसहित शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
मुख्यमन्त्री सिंहले समारोहलाई सम्बोधन गर्दै प्रदेशभित्रै अत्याधुनिक अटोमेटिक ट्रायल सेन्टर छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। जनताको सहजता र पहुँचलाई मध्यनजर गर्दै स्थान चयन गरिएको उहाँले बताउनुभयो।
यातायात तथा श्रम मन्त्री कौशल किशोर यादवले कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई अनावश्यक खर्च र सास्तीबाट मुक्ति मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नै ट्रायल सेन्टर सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको उल्लेख गर्नुभयो।
शिलान्यास कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति अध्यक्ष कौशल सिंह, विष्णु गाउँपालिका अध्यक्ष जवाहर यादव, कविलासी नगरपालिकाका अध्यक्ष ब्रह्मदेव यादव, उपप्रमुख पुनम कर्णलगायत अन्य प्रतिनिधिहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रदेश सरकार र स्थानीय तहको सहकार्यले सर्लाहीबासी अब आफ्नै जिल्लामै यातायात सेवा लिन सक्ने आशा गरिएको छ।



