भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको तनाव, मिसाइल र ड्रोन आक्रमण तथा सीमावर्ती गोलीबारीलाई पूर्ण विराम लगाउँदै दुवै देश शनिबार ‘पूर्ण र तत्काल युद्धविराम’मा सहमत भएका छन्। यस घोषणापछि पाकिस्तानमा विशेषगरी मुल्तानमा सर्वसाधारणले मिठाइ बाँड्दै, सडकमा नाचगान गर्दै शान्तिको उत्सव मनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई विवेकपूर्ण निर्णय गरेकोमा बधाई दिएका छन्। उनका अनुसार यो सहमति मध्यस्थ वार्ताबाट सम्भव भएको हो।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू भएको जनाउँदै आफ्नो देश शान्तिमा प्रतिबद्ध भए पनि सार्वभौमसत्ता र अखण्डतामा सम्झौता नगर्ने बताए। भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमार्गबाट हुने सम्पूर्ण सैन्य गतिविधि रोकिएको जानकारी दिए।
यो सन्दर्भमा साउदी अरब र टर्कीले पनि महत्वपूर्ण मध्यस्थता भूमिका खेलेको बताइएको छ। मुल्तानका स्थानीय बासिन्दाले “हामी युद्ध होइन, शान्ति चाहन्छौं” भन्ने भावनासहित उत्सव मनाएका छन्।
यसअघि अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसले दुई देशबीचको तनावलाई चरममा पुर्याएको थियो। त्यसको प्रतिकृयामा भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो भने पाकिस्तानले त्यसको जबाफस्वरूप मिसाइल आक्रमण गरेको दाबी गरिएको थियो।
युद्धविरामसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्र पुनः पूर्ण रूपमा खुला गरेको छ।



