रौतहट — भारत र पाकिस्तानबीच चर्किँदो तनावबीच भारतीय सुरक्षा निकायहरूले नेपाल सीमा हुँदै भारत प्रवेश गरेका चार जना चिनियाँ नागरिकलाई मोतीहारी, बिहारमा पक्राउ गरेका छन्। मोतीहारी जिल्लाको हरैया थाना क्षेत्रअन्तर्गत मितेरी पुलबाट भारत छिर्दै गरेका उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (SSB) ले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चीनको हुनान प्रान्तका डेन विजोन, लिं युन्गाघौई, हि क्युँ हैनसेन, र हुवाग लिविंग रहेका छन्। तीमध्ये एकजना महिला रहेको र उनले आफ्नो परिचय नेपाल नागरिकको रूपमा दिएकी छन्। तर, बारम्बार बयान परिवर्तन गरिरहेको र उनको सम्पर्कमा पाकिस्तानी नम्बरहरू भेटिएकोले महिला पाकिस्तानी नेटवर्कसँग जोडिएको हुनसक्ने आशंका भारतीय सुरक्षाको रहेको छ।
मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार चारै जना बिना भिसा अवैध रूपमा भारत प्रवेश गरिरहेका थिए। उनीहरूविरुद्ध हरैया थानामा प्राथमिकी दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ। हाल उनीहरू प्रहरी नियन्त्रणमा छन् र सोधपुछ जारी छ।
उनीहरू एक साता काठमाडौँमा बसेपछि भारत प्रवेश प्रयास गरेको देखिएको छ, जसको कारणबारे सुरक्षाकर्मीहरू विशेष चासोका साथ अनुसन्धान गरिरहेका छन्।
यसैबीच, भारतीय सेनाले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेसँगै भारत–नेपाल सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। भारत प्रवेश गर्ने प्रत्येक व्यक्तिको कडाइका साथ परिचय जाँच भइरहेको भारतीय सुरक्षाको भनाइ छ।



