सर्लाही — विद्यालय र मन्दिर नजिकै सञ्चालनमा रहेको क्रसर उद्योगको विरोध गर्दा ६ जना स्थानीयवासी उल्टै ‘डाँका’ को आरोपमा फसिरहेका छन् । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहमाथि राज्यशक्ति दुरुपयोग गरी झुटा मुद्दा लगाएको आरोप लागेको छ ।
बसबरिया गाउँपालिका–५ को कोठियारस्थित एक प्राथमिक विद्यालय र मन्दिर नजिकै अवैध रूपमा सञ्चालन भइरहेको क्रसर उद्योगका कारण स्थानीयमा असन्तोष चुलिँदै आएको थियो । विद्यालयमा धुलो पसेर पठनपाठन असहज भएपछि स्थानीयले क्रसर हटाउन माग गरेका थिए । तर, उक्त मागको साटो उनीहरूलाई झुटा आरोपमा फसाउने प्रयास भएको पीडितहरूको गुनासो छ ।
पीडितमध्येका एक दिपेश यादवका अनुसार, गत बैशाख १० गते सभापति सिंह आफैँ हातमा रड बोकेर विरोध गर्ने गाउँलेमाथि जाइलागेका थिए । “धेरैजसो बच्चा बिरामी पर्न थालेपछि हामीले विरोध गर्यौं, तर त्यसपछि उल्टै उहाँ आक्रोशित हुँदै हामीमाथि हमला गर्न आउनुभयो,” यादवले भने ।
उक्त झडपपछिको प्रतिक्रियामा सभापति सिंहका भाइ बीरेन्द्रप्रसाद सिंहले दिपेश यादवसहित ६ जनामाथि डाँका मुद्दा दर्ता गराएका छन् । प्रहरी स्रोतका अनुसार, पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।
स्थानीयका अनुसार, उक्त क्रसर विद्यालयभन्दा मात्र ३०–३५ मिटर टाढा छ, जहाँ नजिकै माईको मन्दिर समेत रहेको छ । विरोधको बावजुद नेता सिंहले राजनीतिक पहुँच देखाउँदै क्रसर नहटाउने अडान लिएका छन् ।
तत्कालीन डिएसपी गौतम थापाले ‘उच्च दबाब’का कारण मुद्दा दर्ता गर्नुपरेको स्वीकार्दै सरुवा भएका छन् भने हालका प्रहरी निरीक्षक राजन पट्टेलले मुद्दा दर्ता भएको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
सभापति सिंहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।



