सर्लाही : सर्लाहीको सीमावर्ती नाका भाँड्सर, मलंगवा र खुटौनाबाट गाई–गोरुको अवैध तस्करी खुलेआम भइरहे पनि सुरक्षा निकाय मौन देखिन्छन्। प्रहरी र सशस्त्रको उपस्थितिका बाबजुद तस्करी झनै बढिरहेको छ, जसले प्रहरी मिलेमतोको आशंका गहिराएको छ।
“हामी खेतमा पसिना बगाउँछौं, तिनीहरू रातमा गाई पठाएर बाली सखाप पार्छन्,” भन्छन् हरिपुरका एक किसान।
स्थानीय किसानहरूले गुनासो गरेका छन्—गाईगोरुको बथान रातमा नाकाबाट सीमापार लाने काम प्रहरीकै आँखा अगाडि हुन्छ, तर नियन्त्रण भने हुन सकेको छैन।
सूत्रका अनुसार तस्कर र सुरक्षाकर्मीबीच गोप्य सेटिङका कारण गाई–गोरुको तस्करी सजिलै हुँदै आएको हो। स्थानीय बासिन्दाहरूले प्रहरी प्रशासनप्रति गम्भीर प्रश्न उठाएका छन्।
सशस्त्र प्रहरी बलका प्रमुख एसपी देव बहादुर चन्दलाई जब प्रत्यक्ष सम्पर्क गरियो, उनले भने,
“मलाई जानकारी थिएन, अब जानकारी आएको छ भने नियन्त्रणमा लिनेछौं।”
तर स्थानीयवासीहरू यो भनाइलाई ‘पुरानै जस्तो बहाना’ भन्छन्।
गाई–गोरुको तस्करीले कृषिमा मात्र हैन, धर्म र संस्कृतिमा समेत चोट पुर्याएको भन्दै नागरिक समाजले पनि आपत्ति जनाउँदै आएको छ।



