सर्लाही — प्रदेश सांसद उपेन्द्र महतोको पहलमा सर्लाही क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका १८ स्थानमा टावर बत्ती जडान गरिएको छ।
प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न यस योजनामा ईश्वरपुर र चन्द्रनगर गाउँपालिकाका नौ–नौ स्थानमा टावर बत्ती जडान गरिएको हो। प्रत्येक प्रत्यक्ष निर्वाचित प्रदेश सांसदलाई प्रदान गरिएको तीन करोड बजेटअन्तर्गत सांसद महतोले दुई वटा योजनाबाट ५० लाख रुपैयाँ विनियोजन गरी यो कार्य सम्पन्न गरेका हुन्।
टावर बत्ती मुख्यतः हाटबजार, जनघनत्व भएका क्षेत्र तथा व्यापारिक केन्द्रहरूमा राखिएका छन्। यसले साँझ र रातिको समयमा सार्वजनिक सुरक्षामा सुधार ल्याउनुका साथै स्थानीय किसान, व्यवसायी र यात्रुहरूलाई आवत–जावतमा सहजता पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार बत्तीको उज्यालोले विषालु जीवजन्तुबाट जोगिन समेत मद्दत पुर्याउनेछ भने गर्मी याममा पनि साँझसम्म साना बजारमा व्यापार गर्न सकिने भएपछि व्यापारीहरू उत्साहित भएका छन्।
सांसद महतो भन्छन्, “गाउँका बजार उज्यालो बनाउने हाम्रो लक्ष्य हो। अब सबै पक्ष लाभान्वित हुनेछन्।”
यस योजनाले गाउँस्तरमै आर्थिक चहलपहल बढाउने विश्वास गरिएको छ।



