सर्लाही — चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्म सर्लाही जिल्लास्थित भन्सार कार्यालयले कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यका अनुसार नौ महिनामध्ये चार महिनामात्रै राजस्व संकलन लक्ष्यअनुसार पुगेको हो भने बाँकी पाँच महिनामा लक्ष्यभन्दा कम मात्र राजस्व उठेको छ ।
हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको ९५.०४ प्रतिशत मात्र पुगेको छ । साउन महिनामा भने १११.०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख रुपैयाँभन्दा बढी संकलन भएको थियो । तर भदौमा त्यो एकदमै घटेर ४३.७१ प्रतिशत मात्र पुगेको तथ्याङ्कले देखाउँछ ।
पछिल्ला महिनाहरूमा मङ्सिर र पुसमा अपेक्षाभन्दा बढी राजस्व उठेपनि चैतमा पुनः गिरावट आएको छ । चैतमा जम्मा तीन करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन सो महिनाको लक्ष्यको ७१.७८ प्रतिशत मात्र हो ।
कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतका अनुसार यो वर्ष तरकारी आयातमा गिरावट आएकोले राजस्व संकलनमा प्रभाव परेको हो । सर्लाही भन्सारबाट प्लाइ निर्यात भइरहेको छ भने आयातमा प्लाइ उद्योगका कच्चा पदार्थ, थोरै खाद्यान्न र तरकारीका सामानहरू रहेका छन् ।



