‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’ — जनमत पार्टीको आरोप

काठमाडौँ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच हुने भनिएको एकता कार्यक्रम अगावै नाटकीय मोड लिँदै नाउपाका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीका प्रवक्ता शरद यादवले चौधरीको गिरफ्तारीलाई ‘पहिचानवादी शक्तिको एकता रोक्ने षड्यन्त्र’को संज्ञा दिएका छन्।

बुधबार प्रज्ञा भवनमा आयोजना गर्न लागिएको पार्टी एकता कार्यक्रममा सहभागी हुन चौधरी पुगेका बेला सादा पोसाकमा रहेका सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार लगेका हुन्।

“कार्यक्रमको तयारी भइरहेका बेला संरक्षकज्यूलाई कुनै जानकारी नदिई पक्राउ गरियो,” यादवले भने, “यसले स्पष्ट देखाउँछ कि थारु र मधेसी समुदायको साझा आवाज बन्ने डरले यस्तो कदम चालिएको हो।”

यता, जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिल बोहराले भने चौधरीको अघिल्लो मुद्दा अन्तर्गत कैद अवधि बाँकी रहेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको बताए।

यस घटनापछि दुई पार्टीबीच आजका लागि तय गरिएको एकता प्रक्रिया स्थगित गरिएको छ। अब नेताहरूबीच पुनः छलफल गरी आगामी रणनीति बनाइने जनमत पार्टीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय