काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी)को सरुवा फेरि पुरानै मापदण्डअनुसार गर्न लागिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेसँगै सरुवाको तयारी तीव्र गतिमा अघि बढाइएको हो।
बिहीबार डिएसपी र इन्सपेक्टरको सरुवा भएपनि एसपीको सूची टुंगो लाग्न सकेन। तीन महिनाअघि नै गर्नुपर्ने सरुवा नेतागिरी र अस्वस्थ प्रतिस्पर्धाका कारण अझै रोकिएको छ।
झापा, महोत्तरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु, बाँके, कञ्चनपुर, सुर्खेत, पाल्पा र काभ्रेपलाञ्चोक लगायतका प्रमुख जिल्लामा एसपी बन्ने दौडधूप तीव्र बनेको छ। यी जिल्लामा सरुवाका लागि ठूलो चलखेल र दबाब देखिएको स्रोतको भनाइ छ।
यसैबीच, काममा चासो नदेखाएका वा कमजोर प्रदर्शन गरेका केही एसपीलाई समयअगावै फिर्ता बोलाउने तयारी समेत भएको छ।
प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड तयार पार्ने प्रयास जारी राखेको छ। तर, अहिलेको सरुवा प्रक्रिया पुरानै मापदण्डअनुसार गरिने र त्यसपछि मात्र नयाँ प्रणाली लागू गरिने प्रहरी प्रमुख दीपक थापाले जानकारी गराएका छन्।



