महोत्तरी — प्रदेश २ अन्तर्गतको महोत्तरी जिल्लाका ग्रामीण बस्तीहरूमा वर्षा याम सुरु हुनुभन्दा महिनौँ अगावै खाना पकाउने परम्परागत इन्धन ‘गुइँठा’ संकलन र भण्डारणको चटारो सुरु भएको छ। बजार र सहरी क्षेत्रमा ग्यास चुल्हो र विद्युतीय इन्धनको प्रयोग क्रमशः बढ्दै गए पनि ग्रामीण भेगमा अझै पनि गुइँठा नै प्रमुख विकल्पका रूपमा निर्भरता रहेको छ।
गुइँठा भन्नाले गोबरबाट बनाइने चिपरी र गोरहालाई जनाइन्छ, जुन हिउँदभरि घरका भित्तामा वा खुला चउरमा पथारेर सुकाइन्छ। चिपरी सीधा भित्तामा टाँसेर बनाइने हो भने गोरहा भने गोबरमा पराल वा भिक्रा हालेर गोलो आकारमा तयार गरिन्छ। यी इन्धनका स्रोतहरू वैशाख लागेसँगै एकत्रित गरेर सानो छाप्रो वा गोठको कुनामा सुरक्षित राख्ने चलन छ, जसको प्रयोग बर्खायाममा गरिन्छ।
भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्छिन्, “खाना त हरेक दिन पकाउनु पर्छ, बर्खामा दाउरा कहाँ पाइन्छ र? अहिले नै गुइँठा नजोगाए झमझम पानी परेका बेला ठूलो समस्यामा पर्छौं।” उनका अनुसार, गुइँठा एक पटक सल्किएपछि सजिलै ननिभ्ने र सजिलो इन्धन भएकाले धेरै महिलाको रोजाइमा पर्छ।
अझ गरिब र विपन्न वर्गका लागि त गुइँठा अनिवार्यजस्तै बनेको छ। औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्छिन्, “ग्यास चुल्हो त हाम्रो पहुँच बाहिरको कुरा हो, गुइँठा नै हाम्रो सहारा हो। पराले बनाएको झुप्रोमै राखेर जोगाएको छु।”
गुइँठाको प्रयोग केवल आवश्यकता होइन, स्वादको विषय पनि हो। धेरै ग्रामीण महिलाहरूको भनाइमा गुइँठामा पकाएको खाना ग्यास वा काठको चुल्होमा पकाएकोभन्दा स्वादिलो हुन्छ। गौशाला–६ जमुनियाँकी रामपरी थारू भन्छिन्, “गुइँठाको आगोमा पाकेको तरकारी र भातको स्वाद अर्कै हुन्छ।”
यद्यपि, स्वास्थ्यका दृष्टिले भने यसको प्रयोग सतर्कताका साथ गर्न विशेषज्ञहरूको सुझाव छ। बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान भन्छन्, “गुइँठा स्वास्थ्यकर मानिए पनि त्यसको धुवाँले महिलामा श्वासप्रश्वासको समस्या निम्त्याउँछ। त्यसैले खुला र हावायुक्त ठाउँमा मात्र प्रयोग गर्नुपर्छ।”
गुइँठा प्रयोगको बढ्दो प्रवृत्तिले अर्काे चुनौती पनि ल्याएको छ—कृषि उत्पादनमा असर। किसान दीपबहादुर फुयाल भन्छन्, “गोबर इन्धनमा खर्चिँदा कम्पोष्ट मलको अभाव बढेको छ। मलिलो माटो नभएपछि उत्पादन घट्दो छ र किसानहरू रासायनिक मलमा आश्रित बन्दै गएका छन्।”
८५ वर्षीय छविलाल दाहालको विचारमा, “सरकारले गरिब जनतालाई वैकल्पिक इन्धन उपलब्ध गराउने योजना ल्याउनुपर्छ, नत्र गाउँलेहरू अझै धेरै समय गुइँठामै निर्भर रहन बाध्य हुनेछन्।”
महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिकाका अधिकांश बस्तीहरूमा गोबरबाट बनेका गुइँठा अझै पनि भान्साको मुख्य सहारा बनेका छन्। यसले एकातर्फ परम्परागत जीवनशैलीलाई जोगाइरहेको छ भने अर्कातर्फ आर्थिक, स्वास्थ्य र कृषि पक्षमा चुनौती पनि थपिरहेको छ।
निष्कर्षतः, गुइँठा अहिले पनि मधेसका ग्रामीण भेगमा परम्परा र आवश्यकता दुबैको प्रतीक बनेको छ। तर दीर्घकालीन समाधानका लागि वैकल्पिक इन्धनको पहुँच, जनचेतना र कृषिलाई सन्तुलित बनाउने नीतिगत व्यवस्था आवश्यक देखिन्छ।



