काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए ।उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।



