धनुषामा आमाबाट विष खुवाउँदा तीन सन्तानको मृत्यु, गर्भको शिशु अपरेसनमार्फत जीवित उद्धार

जनकपुर : धनुषाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा एक हृदयविदारक घटना घटेको छ । सोमबार साँझ, घरायसी विवादको चरम रूप लिँदै ३० वर्षीया बविता साहले आफ्नै तीन नाबालक सन्तानलाई विष खुवाइन् र त्यसपछि आफूले पनि आत्महत्याको प्रयासस्वरूप विष सेवन गरिन् ।

विष खुवाइएका उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिएका छन् ।

विष सेवनपछि गम्भीर अवस्थामा पुगेकी बवितालाई स्थानीयले तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए । हाल उनको अवस्था गम्भीर छ र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सबैभन्दा चकित पार्ने पक्ष के भने, बविता नौ महिनाकी गर्भवती थिइन् । चिकित्सकहरूले तत्काल अपरेसन गरी गर्भमा रहेको शिशुलाई जीवितै उद्धार गरेका छन् । अहिले नवजात शिशुको अवस्था स्थिर रहेको बताइएको छ ।

प्रहरीका अनुसार, बविताको परिवारमा दिनहुँजसो झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी निरीक्षक यादवका अनुसार, घरायसी विवादले अत्यधिक मानसिक तनाव झेलेकी बविताले यस्तो कठोर निर्णय लिएको प्रारम्भिक बुझाइमा आएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो घटनाले पारिवारिक अशान्ति, मानसिक स्वास्थ्य र समाजमा बढ्दो दबाबबारे गम्भीर प्रश्न उठाएको छ । तीन निर्दोष बालबालिकाको ज्यान गएको यो घटनाले सम्पूर्ण समाजलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ ।

 

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय