जनकपुर — मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध शपथग्रहण गरेको भोलिपल्टै भ्रष्टाचार मुद्दा दायर भएको छ। सोमबार मात्रै मुख्यमन्त्री सतिशकुमार सिंहबाट पद तथा गोपनीयताको शपथ लिएका उपाध्याय मंगलबार निलम्बनमा परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले उपाध्यायसहित बारा पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध ३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।
उनीहरूलाई सार्वजनिक खरिद ऐन विपरीत टेन्डर सूचना प्रकाशन गरेको आरोप लागेको छ। बोलपत्र सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान भए पनि, उपाध्याय अध्यक्ष रहेको केएस मल्टिपर्पस प्रालिबाट “प्रभाव दैनिक” मा मात्र एक प्रति प्रकाशित गरिएको पाइएको अख्तियारले जनाएको छ।
भुक्तानी समेत भइसकेको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायसहित मुद्दा अघि बढाएको हो।
यसबीच, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले आफूले घटनाबारे जानकारी लिएको र छलफल भइरहेको बताएका छन्।
कमलकुमार उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष समेत हुन्। उनले एमालेबाट निर्वाचित पालिकाहरूमा विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए।



