सुनसरी — कोसी प्रदेशको सीमावर्ती जिल्ला सुनसरीमा तस्करीको गतिविधि खुलेआम भइरहेका छन् । विशेषगरी लौकही, श्रीपुर र घुस्की नाकाबाट दैनिक रूपमा चिनी, गुट्खा, कपडा, मदिरा, मोबाइल, रजनीगन्धा र पेट्रोलजस्ता सामग्रीहरू भन्सार छलेर भित्रिन थालेका छन् । स्थानीय व्यापारी र बासिन्दाहरूको भनाइमा, यी तस्करीहरू सशस्त्र प्रहरी बलको निगरानीमै भइरहेका छन् ।
तीन महिनादेखि एक किलो गाजा वा अन्य प्रतिबन्धित वस्तु बरामद नभएकाले, सुरक्षा निकायको निष्क्रियता र मिलेमतोप्रति स्थानीयहरू शंका व्यक्त गर्छन् । प्रहरी चौकीको छेउबाटै मोटरसाइकल, साइकल र ट्याक्टरमार्फत सामान ओसारिन थालेपछि स्थानीय बासिन्दा र व्यापारीहरू निराश छन् ।
सुनसरी कार्यक्षेत्रमा खटिएका एसपी निर्मलकुमार थापा र सशस्त्र प्रहरीका डिएसपी केदारजंग थापामाथि गम्भीर प्रश्न उठ्दै गएको छ । डिएसपी थापाले आफ्नो क्षेत्र बाहिरका पालिकासँग समेत स्रोतसाधन संकलन गर्न खोजेको आरोप लागेको छ ।
व्यापारीहरूका अनुसार, दिनभर सीमाको दसगजामा भण्डारण गरिएका सामग्रीहरू राति सुरक्षाको आवरणमा नेपाल भित्र्याइन्छन् । कहिलेकाहीं तस्कर र सुरक्षाकर्मीबीच झडपको अवस्था आउन सक्ने अवस्था देखिए पनि हाल सशस्त्र प्रहरी मौन बसेको आरोप लगाइएको छ । बराह बाहिनीको उपस्थिति रहेको भए पनि प्रमुख शम्भु सुवेदी समेत मौन देखिएका छन् ।
प्रशासन र सुरक्षा निकायले ठोस कदम नचालेमा सुनसरीका सीमा नाकाहरू तस्करीको स्थायी मार्ग बन्ने स्थानीयहरूको चेतावनी छ ।



