सर्लाही, बैशाख ७ । सर्लाहीको बागमती नगरपालिका–११ मा गएराति भीषण आगलागी हुँदा एक तले कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीका अनुसार ७ गते राति करिब १०:२५ बजे स्थानीय ईश्वरी प्रसाद दहालको खरले छाएको टालीको छानो भएको कच्ची घरमा चुलोमा बालेको आगोबाट अचानक सल्किएको आगोले घरलाई समातेको हो।
घटना जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुभाष यादवको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी, स्थानीयबासी तथा दमकलको समन्वयमा आगो राति १० : ४५ बजे पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।
उक्त आगलागीबाट घरभित्र राखिएको सम्पूर्ण अन्नपात र घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। यद्यपि, मानवीय क्षति वा चौपाय जन्य क्षति भने नभएको पुष्टि गरिएको छ।



