सर्लाही – सर्लाहीको बरहथवा बजारस्थित एक निजी अस्पतालका सञ्चालकले बिरामी र उनका आफन्तमाथि निर्घात कुटपिट गरेको गम्भीर आरोप लागेको छ । बरहथवा नगरपालिका–६ हजरिया रोडमा सञ्चालनमा रहेको सर्लाही गोल्डेन हस्पिटलका सञ्चालक दिपेश यादवले उपचारपछिको बिलको विषयमा विवाद भएपछि आक्रोशित भई आक्रमण गरेका हुन् भन्ने पिडित परिवारको दाबी छ ।
घटना मंगलवार साँझको हो । बरहथवा –६ निवासी रामप्रवेश साह गुप्ता सिसाले हात काटिएपछि उपचारका लागि अस्पताल पुगेका थिए । सामान्य उपचारपछि हस्पिटलले उनीहरूलाई १८ हजार रुपैयाँको बिल थमायो । बिरामीका दाजु महेन्द्र साह रौनियारका अनुसार हस्पिटलले आधिकारिक बिल नदिई सामान्य कापीमा बिल लेखेर दिएको थियो। जब रौनियारले त्यसको मोबाइल फोटो खिच्न खोजे, त्यसपछि नै विवाद चर्किएको हो ।
रौनियारका भनाइ अनुसार, हस्पिटल सञ्चालक यादवले बाहिरबाट मानिसहरू बोलाई आफ्ना आमा, भाइ, बहिनी र भान्जासहित आफूमाथि रड र हेल्मेटले आक्रमण गरेका थिए । पीडित परिवारको भनाइमा, अस्पतालले यसअघि पनि यस्तै ढंगमा बढी पैसा असुल्ने र नदिए कुटपिट गर्ने गरेको उजुरी जिल्ला प्रशासन कार्यालय र बरहथवा नगरपालिका स्वास्थ्य शाखामा समेत परेका छन् ।
घटनापछि स्थानीयहरू आक्रोशित बने। हस्पिटल घेराउ गर्दै नाराबाजी गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले सञ्चालक यादवलाई नियन्त्रणमा लिएर लगे पनि, उनीलाई सोही राति छाडिएको स्थानीयले बताएका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै डिएसपी गौतम थापाले, “घटना सामान्य प्रकृतिको हो र यादव बिरामी भएकाले छोड्नुपरेको हो,” भन्ने जानकारी दिएका छन् । तर पिडित परिवार र स्थानीयवासी भने प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट छन् । उनीहरूको माग छ — “सञ्चालकमाथि कडा कारबाही गरियोस्, अस्पतालमा मनपरी बन्द गरियोस् ।”
यस घटनाले निजी अस्पतालमा पारदर्शिता, उत्तरदायित्व र मानवीयता कति कमजोर अवस्थामा छ भन्ने गम्भीर प्रश्न उठाएको छ । स्वास्थ्य उपचारको नाममा यदि यस्तो ज्यादती दोहोरिरहने हो भने बिरामी र नागरिकको बिश्वास गुम्न जाने स्थानीयवासीको चेतावनी छ ।



