सर्लाहीको हेमपुरमा आगलागी : एक पाडीको मृत्यु, गोठ पूर्णरूपमा नष्ट

सर्लाही : सर्लाहीको कविलासी नगरपालिका–४ हेमपुरमा फुसको गोठमा आगलागी हुँदा एक पाडीको जलेर मृत्यु भएको छ भने एक भैंसीसहित अन्य एक पाडी गम्भीर रूपमा घाइते भएका छन् । आगलागीका कारण गोठसमेत पूर्णरूपमा नष्ट भएको छ ।

स्थानीय कैलास रायको गोठमा मंगलवार राति आगलागी भएको हो । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएको आगोले गोठमा भीषण रुपमा फैलिँदा यस किसिमको क्षति भएको हो ।

प्रहरीका अनुसार गोठभित्र रहेको एक भैंसीको टाउको र पेट जलेर करिब २५ प्रतिशत क्षति पुगेको छ । त्यस्तै दुई पाडीमध्ये एकको ९० प्रतिशत भाग जलेको अवस्थामा भेटिएको छ भने अर्काे पाडी जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीका बारेमा जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाबाट प्रमुख सई ओम प्रमोद साहको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मानवीय क्षति नभए पनि पशु तथा संरचनात्मक गरी करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पाडीहरूको अनुमानित मूल्य करिब ४५ हजार र गोठको मूल्य करिब ५ हजार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीको क्षेत्रभित्र पर्ने भएकाले त्यहाँबाट प्रहरी निरीक्षक सुधिर कुमार साहको नेतृत्वमा मुचुल्का टोली पनि परिचालित गरिएको छ ।

घटना भएको स्थान अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछिया बाट करिब ५०० मिटर पश्चिम–उत्तरतर्फ पर्दछ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय